काठमाडौं - गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।
दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। दुर्घटनामा परी गम्भिर घाइते भएका पाइलट सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। त्यसपछी, उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको थियो। नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो उनको निधन भएको हो।
मनाङ एयरले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूको अथक प्रयासका बाबजुद पाइलट सेढाईंको निधन भएको जनाएको छ। उनको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।
गत असोज २७ गते शनिबार बिहान हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन लुक्लाबाट लोबुचे गएको मनाङ एयरको नाइन एनएनजे कलसाइनको हेलिकोप्टर लोबुचेमा अवतरणको क्रममा हेलिप्याडमै दुर्घटनाग्रस्त भएको थियो।


0 comment