काठमाडौं – कैलालीको गेटामा बनेको गेटा अस्पताल सञ्चालनमा आएको छ । अत्तरिया–धनगढीको मुख्य सडककै पुर्वपट्टि अवस्थित १ सय शैय्या क्षमताको गेटा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको हो । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य सेवा लिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताउनु भयो । 

अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधीलगायतको प्रबन्ध गरिएको छ। अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहीन गरेर १ सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा आएको जोशीले बताउनु भयो । 

आर्थिक वर्ष २०८०र८१ को बजेटमा गेटा अस्पताललाई १ सय शैय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट विनियोजन गरेको छ।

गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।