काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको छ ।

महानगरपालिकाले मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकमा प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको हो । 

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए । 

तीन सय हाराहारीमा जनशक्ति रहेको महानगर प्रहरीमा विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौँ महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो ।