काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित गर्दै आजबाट सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरेको पहिलो दिन नै बैंकमा नोट साट्न मानिसहरुको भीड लागेको छ।

यस बर्ष करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही अनुमान गरिएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए। गत वर्षको तुलनामा यस वर्ष सटही खुलाउनमा ढिलाइ भएको हो। गत वर्ष घटस्थापना  आउनु ८–१० दिनअघिबाटै नयाँ नोट दिन सुरु गरिएको थियो।

यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।

यस वर्ष ५, १०, २०, ५० र १०० दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ।