काठमाडौं - बाँकेको शम्शेरगन्जमा यात्रुबाहक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९:११ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो। ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको जनाईएको छ।
मृत्यु हुनेमा ठाकुरबाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द (ठाकुरबाबा–८ ) र सहचालक बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की रहेका छन् ।
बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ठाकुरबाबा ९ का बलबहादुर थारु र रामु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसीयुमा राखेर उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सरस्वती थापा र महिनबहादुर थारुको पनि शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
गाउँका सबै बुद्धिजिवी दुर्घटनामा परेपछि ठाकुरबाबा शोकमा डुबेको छ। मृतकको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम पछि शवहरू बर्दिया ल्याइने जनाएको छ।
साँघुरो सडक भएका कारण ट्रकमा बस ठोकिन गएको घाइतेहरूले बताएका छन्।
घाइतेहरूको निःशुल्क उपचार गरिनुपर्ने भन्दै लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना शोक वक्तव्य मार्फत गरेका छन्। ठाकुरबाबा नगरपालिका, नेकपा माओवादी केन्द्र लगायत विभिन्न तह र तप्काबाट विज्ञप्ति जारी गर्दै घटनाका मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ।

0 comment