काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बसले स्कुटीलाई ठक्कर दिँदा प्रतिष्ठानका एक कर्मचारीको मृत्यु भएको छ। 

शनिबार धरानको जिरो पोइण्टमा प्रतिष्ठानको को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १-०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। घटनामा घाईते भएका चौधरीको प्रतिष्ठानमा उपचार भईरहेको छ। पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ। लिम्बू घाइते चौधरीको श्रीमती हुन्।  
 
प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आयोजित रन द माइल्स फिल द स्माइल म्याराथनमा सहभागीलाई पुर्याएर फर्कँदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको थियो।

बस चालक सुरेन्द्र यादबसहित प्रतिष्ठानको बस र ठक्करबाट सामान्य क्षति भएको को १ च ८१०८ नम्बरको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।