काठमाडौं – सुनसरीमा प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटिएको छ । 

चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका सादा पोसाकका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेका छन ।  

घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फको घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचनाको अधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरी जवानलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार रहेको बताएका छन् । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भएता पनी आक्रमणकारीको समूह ठूलो भएकाले दुई जना मात्रै त्यो समूहसँग भिड्नसक्ने अवस्था न रहेकोले हतियार र गोली लुटेर उक्त समूह फरार भएको उन्ले बताएका छन् । 

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा सामान्य चोट लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको एसपी रेग्मीले बताएका छन् । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको जानकारी उनले दिएका छन् । 

घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा टोली परिचालन गरिएको थियो । अपराधिक गिरोहको खोजीका लागि इन्सपेक्टरहरु जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको छ । 

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । घटना विगतमा विभिन्न अपराधमा संलग्न समूहले गराएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।