काठमाडौं – बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने जना २९ घाइते भएका छन् । 

यसरी मृत्यु हुनेमा ठाकुरबाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द र ३५ वर्षीय गाडी सहचालक रहेको प्रहरीले जानकारी दिएको छ । तर सह चालकको भने पहिचान खुलेको छैन । 

बसमा सवार ४१ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको मध्यम र १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्य ५ जना भने सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।  २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९ः११ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीले जानकारी दिएका छन् । 

ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको प्रमुख सुवेदीले बताएका छन् ।