काठमाडौं – भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भने बेलाबेलमा भई रहने गर्छ । विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताउँदै आएका छन । तै पनी भारतसँग सिमाना जोडिएका सीमा नाकाहरूबाट दिनहुँजसो ठूलो मात्रामा विषादी तरकारी नेपालमा भित्रिने गरेको छ । त्यसरी भित्रिने आलु, प्याजलगायतका हरियो तरकारी तथा फलफुलहरु नेपालका विभीन्न जिल्लाहरुमा लाग्ने हाटबजारमा व्यापारीहरुले पुर्‍याउने गर्दछन् । 

नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको एक तथ्याङ्क ले देखाउँछ । त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइ भन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन् ।

नेपालको कुनै पनि सीमामा प्रभावकारी जाँच गर्न सक्ने अवस्था न भएको हुँदा नेपाली उपभोक्तहरुले विषादी परीक्षणबिना भित्र्याइएका तरकारी खान बाध्य छन् । मोटरसाइकल र साइकलमा लोड गरेर भित्र्याइने भएकाले सीमा नाकामा रहेका प्रहरी र सशस्त्र प्रहरीले तरकारीलाई खासै त्यती चासो दिने गरेको पाईदैन । खुलेआम रूपमा भित्रिने तरकारी नियन्त्रणका लागि भन्सार कार्यालयले यसबारे चासो देखाउँने पर्नेमा उस्ले पनि वास्ता गरेको पाइन्न ।

सामान्यतः विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्लान्ट भएको हुँदा कुनै पनि सीमामा हामीले प्रभावकारी जाँच गर्न सक्ने अवस्था न रहेको क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका अधिकारीहरु बताउँछन् । यसरी भित्र्याइएका तरकारी बरामद गरेपछि परीक्षण गर्नुपर्ने र परीक्षण प्लान्ट नभएका कारण भन्सारले वास्ता नगरेको पाईएको छ । 

केन्द्रीय कृषि प्रयोगशालाले बेलाबखत छड्के जाँचका क्रममा विषादीको प्रयोग पनि जाँच्ने गर्छ । तर ती मुख्य बजारमा मात्र केन्द्रीत हुँदा त्यसको औचित्यमाथि उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाउने गरेका छन् । सङ्कलन गरेर ल्याइएका तरकारी काठमाडौं आइपुग्दा कहाँबाट आएको हो भन्ने थाहा न हुँदा पनी कारबाहीको प्रक्रियामा जान गाह्रो भएको प्रयोगशालाका प्रमुख बताउँछन् । 

खुलेआम रुपमा भित्रिने तरकारी नियन्त्रण गर्न भन्सारको बेवास्ता र मूल भन्सारमै तरकारी परीक्षण गर्ने प्लान्ट न भएको हुँदा नेपाली उपभोक्तहरुले विषादीयुक्त फलफुल तथा तरकारी खान बाध्य भएका छन् । 

मानव स्वास्थ्यमा विषादीका असरहरू 

विभिन्न अध्ययनहरू अनुसार नेपालका पुराना व्यवसायिक तरकारी पकेट क्षेत्रहरूमा क्यान्सर, श्वासप्रश्वास, मुटु, मृगौला, कलेजो, रगत, आँखा, पाचन प्रणाली, नशाका रोगहरूबाट पीडित तथा मर्नेहरूको कृषक संख्या अन्यत्रभन्दा धेरै नै गुणा बढी छ । यसरी हेर्दा विषादीको अन्धाधुन्ध प्रयोग बढेसँगै स्वच्छ प्राकृतिक वातावरणमा बस्ने, पुग्दो शारीरिक व्यायाम गर्ने, आफूले उत्पादन गरेको स्वच्छ, ताजा खाने कुरा खाने कृषक समेत पनि डरलाग्दा रोगहरूबाट पीडित हुन पुगेका छन् । नेपालमा सरकारी तथा नीजी क्षेत्रको प्रयासमा दिनानुदिन स्वास्थ्य संघ संस्थाको संख्या र स्वास्थ्य सेवाको विस्तार हुँदा पनि विरामीहरूको संख्या झन्झन् आकासिँदो छ । यसमा बदलिँदो दिनचर्या र विषाक्त खानेकुरा मुख्य कारण हुन् ।