काठमाडौं – धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । 

शुक्रबार धरान–१५ मा लागूऔषधबारे सचेतना कार्यक्रम गरिरहेका मेयर साम्पाङलाई अशोक लिम्बु भन्ने व्यक्तिले डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाई बाटोमा बिभीन्न किसीमको कार्यक्रम गर्दै हिड्ने भन्ने प्रश्न गरेपछि उनी पक्राउ परेका छन् । 

उक्त प्रश्न सोधेको आधारमा नगर प्रमुख मेयरले नगर प्रहरी लगाएर प्रहरीले पक्राउ गरेको लिम्बुले बताएका छन् । लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ । 

लिम्बु पक्राउ परे पछि किराँत याक्थुम चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुव लिम्बुले तत्काल उनलाई रिहाइ नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले विगत केही दिनदेखि धरानका मेयर साम्पाङका अराजनीतिक, अराजक र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न र धरानको सामाजिक सद्भाव कायम राख्न सरकारसँग माग गरेका छन् ।

मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताएका छन् । उनले यस विषयमा अनुसन्धान भइरहेको र तर लिम्बु बिरुद्ध उजुरी भने कसैले न दिएको बताएका छन् ।