काठमाडौं – कारागारको पर्खाल नाघेर भागेका कैदीलाई अझै सम्म प्रहरीले फेला पार्न सकेको छैन ।
आइतबार बिहान सवा ३ बजे बर्दिया कारागारबाट ‘टोपे’ भनिने अजीव बुढाक्षेत्री कारागारको पर्खाल नाघेर बेपत्ता भएका थिए । बुढाक्षेत्रीलाई फेला पार्न नसकेपछि प्रहरीले उनको हुलिया समेत सार्वजनिक गरेको छ ।
बर्दिया जिल्ला अदालतले ०७२ फागुन ५ गते एक जना व्यक्तिको हत्याको आरोपमा बुढाक्षेत्रीलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजाय सुनाएको थियो । त्यस बेला बुढाक्षेत्री अदालत परिसरबाटै भागेका थिए । ठाकुरबाबा नगरपालिका–८, सुतैया घर भएका उनलाई प्रहरीले ७ वर्षपछि ०७९ कात्तिक २१ गते पुनः पक्राउ गरेको थियो । हत्या र भागेको दुवै कसुर जोडेर अदालतले पुनः ३० वर्ष कैद सजाय सुनाएको थियो ।
उक्त कसुरमा जेल जिवन विताई राखेका बुढा क्षेत्री करिब ९ महिना २६ दिन कारावासको जीवन बिताएपछि भदौ १७ गते पुनः कारागारको पर्खाल नाघेर भागेका थिए ।
कपडासमेत नलगाएको अवस्थामा भारतीय जंगलमा देखेको सूचनाहरू स्थानीयले दिएको प्रहरीले जनाएको छ । प्रहरीका जासुसी कुकुरले पनि सीमातर्फ नै बुढाक्षेत्री भागेको संकेत देखाएको प्रहरीले बताएको छ ।


0 comment