काठमाडौं –  लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार, दिउँसो १ बजेका लागि बोलाइएको बैठकले निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी गरेको छ । साथै बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । गत असार २२ गते प्रदेश सभामा निजामती विधेयक दर्ता भएको थियो । प्रदेशसभाले विधेयकको दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । 

समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव सङ्कलन गरेर तयार पारेको प्रतिवेदन हिजो बसेको बैठकमा पेश गरिएको थियो ।