– सरिता के. सी.
“मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएपछि पुरुषहरूको संख्या बढिरहेको हो ।”
काठमाडौं – सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचिन समयमा पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रूपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । सम्बन्ध विच्छद भनेको लोग्ने र स्वास्नी बीचको वैवाहिक सम्बन्धलाई कानून बमोजिम विच्छेद गरिनु हो । यसलाई अर्को भाषामा छोडपत्र वा पारपाचुके पनि भनिन्छ । लोग्ने र स्वास्नी बीचको नाता कुनै पनि परिस्थितिमा टुट्न पनि सक्दछ ।
विवाहबाट जसरी पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोडिन्छ, त्यसैगरी सम्बन्धविच्छेदबाट सोही श्रीमान, श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरुप पति पत्नीबीचको नाता सम्बन्धको त्यागपत्र नै सम्बन्धविच्छेद हो । अर्थात वैवाहिक कानून अन्तर्गत कानूनको अङ्ग पुर्याई विवाहित दम्पतिले आफूहरुलाई सो दाम्पत्य जीवनबाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नु नै सम्बन्धविच्छेद हो । सम्बन्ध विच्छेदपछि श्रीमान, श्रीमतीको अस्तित्व कानूनी रुपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्राप्तिको लागि चालिने कानूनी हक नै सम्बन्धविच्छेद हो । नेपाली कानूनी शब्दकोश अनुसार सम्बन्धविच्छेद भन्नाले पारपाचुके अर्थात तलाक भन्ने शब्द प्रयोग गरिएको छ । सम्बन्धविच्छेदको कानूनी संरचना बृहत भएता पनि यससम्बन्धी छुट्टै कानून भने बनेको छैन । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था मुलुकी देवानी सहिता २०७४ को परिच्छेद ३ बमोजिम व्यवस्था गरेको छ ।
पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटना ह्वात्तै बढेको छ। सहरिया, सम्पन्न महिला मात्र होइन, ग्रामीण र विपन्न महिलासमेत सम्बन्ध–विच्छेदको निवेदन बोकेर अदालत धाइरहेछन् । चितवन जिल्ला अदालतमा दर्ता भएकामध्ये २४ प्रतिशत मुद्दा सम्बन्ध–विच्छेदका छन् भने गण्डकी प्रदेशका विभिन्न जिल्लामा हरेक महिना १५ देखि २५ वटासम्म सम्बन्ध–विच्छेदका लागि निवेदन पर्ने गरेका छन्। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका पुरुष सम्बन्ध–विच्छेदका लागि धमाधम अदालत गइरहेका छन्। पर्वतमा एक आर्थिक वर्षमै ७४ जोडीले सम्बन्ध–विच्छेद गरेको त्यहाँको जिल्ला अदालतको तथ्यांकले देखाएको छ।
तनहुँ, लमजुङ, पवर्त, स्याङ्जा बागलुङलगायत जिल्लामा महिला–पुरुष दुवैबाट सम्बन्ध–विच्छेद गर्ने क्रम तीव्र बनेको छ । पारिवारिक बेमेल र किचलो बढ्दै गएको भन्दै जुम्ला, कालिकोटका महिला पनि सम्बन्ध–विच्छेदको निवेदन बोकेर जिल्ला अदालत धाइरहेछन्। चितवन जिल्ला अदालतमा सम्बन्ध–विच्छेद गराउनेको संख्या एक आर्थिक वर्षमा ८ प्रतिशत बढेको तथ्यांकले देखाएको छ। गत भदौदेखि नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्ध–विच्छेदको मुद्दा हाल्न पाउने कानुनी व्यवस्थाले यो क्रमले तीव्रता पाएको हो । विवाह गरेको २ महिनादेखि २ दशकसम्म बिताएका दम्पतिसमेत आफूहरूबीच व्यापक असमझदारी बढेको भन्दै सम्बन्ध–विच्छेद गर्न अदालत धाइरहेका छन् ।
पछिल्लो समय सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीबाट फर्केका, अन्तरजातीय तथा बहुविवाह गरेका पुरुष बढी देखिएका छन्। विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा स्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेको लर्को लागेको छ। वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्ध–विच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेका छन्। सहर वा विदेश पसेका पतिले दोस्रो विवाह गरेपछि आफू हिंसा, विभेद र मानसिक उत्पीडनमा परेको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिने महिलाको संख्या पनि उल्लेख्य छ ।
अध्ययन र रोजगारीका लागि विदेश जानेमध्ये तिनले सम्बन्ध–विच्छेद बढ्ने क्रम बढेको छ जसले कलिलै उमेरमा विवाह गरेका हुन्छन् र वैवाहिक बन्धनबाट मुक्ति चाहन्छन् । वैदेशिक रोजगारी र सामान्य मनमुटावका कारण सम्बन्ध–विच्छेद गर्नेको संख्या देशैभरि बढ्दै जानु गम्भीर चिन्ताको विषय हो । नयाँ मुलुकी संहिता कार्यान्वयन भएको १५ महिनामै कालिकोट जिल्ला अदालतमा मात्रै ८२ जोडीले सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराएको तथ्य आफैंमा भयावह हो ।
कैलालीको गोदावरी नगरपालिका–१ का भरत नागरीका अढाइ वर्षकी छोरी र डेढ वर्षका छोरा छन्। २५ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमा नेपालीसँग सम्बन्ध विच्छेदका लागि गत असार १७ गते कैलाली जिल्ला अदालतमा मुद्दा हाले । ‘श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्ध विच्छेद गरिपाउँ’, उनले कैलाली जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उल्लेख गरेका छन् ।
कैलालीकै बर्दगोरिया गाउँपालिका–१ का २९ वर्षका टीकाराम बुढाले पनि २७ वर्षिया श्रीमती मनीषासँग सम्बन्ध विच्छेद गरिपाउँ भनि २०८० जेठमा कैलाली जिल्ला अदालतमा मुद्दा हाले। २०६९ मंसिर २४ गते प्रेम विवाह गरेका उनका पनि १० वर्षका छोरा र ७ वर्षकी छोरी छन्। ‘कामका सिलसिलमामा म विदेश गएँ। एकपटक कतार र एकपटक साउदी अरब गएँ। श्रीमती मलाई नसोधिकन दुई÷तीन दिनसम्म गायब भइदिने गर्छे। सम्झाउँदा पनि मानिनन् । परपुरुषसँग लागेकाले सम्बन्ध विच्छेद गरिपाउँ, जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उनले भनेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–२ का ३० वर्षका तपेन्द्र विष्टले पनि श्रीमती सरीता रावलसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेका छन् । टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएकाले सम्बन्ध विच्छेद गरी पाउँ’, विष्टले दर्ता गरेको मुद्दामा उल्लेख छ ।
विष्टका ४ वर्षकी छोरी छन् । २०७४ सालमा विवाह गरेका विष्टले २०७६ सालमा आफू वैदेशिक रोजगारीमा गएपछि श्रीमतीले यस्तो गरेको मुद्दामा उल्लेख गरेका छन् । मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएपछि पुरुषहरूको संख्या बढिरहेको हो। मुलुकी देवानी संहिता २०७४ सालमा आए पनि यो ऐन २०७६ सालदेखि लागु भएको हो ।
जिल्ला अदालत कैलालीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ५१ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकोमा गत आर्थक वर्ष अथवा आव २०७९/८० मा त्यो संख्या झण्डै ५ गुणाले बढेर २२७ भएको छ । आव २०७९÷८० मा २२७ जना पुरुषले मात्रै सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन्। महिलाको संख्या अझै धेरै छ। आव २०७९/८० मा ४७६ महिलाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् जिल्ला अदालत कैलालीका निमित्त श्रेस्तेदार नेत्रबहादुर माझीले भने ।
आर्थिक वर्ष २०७६/७७ मा ५१ जना पुरुष र १५३ जना महिला, आर्थिक वर्ष २०७७/७८ मा ५२ जना पुरुष र १५३ जना महिला, आर्थिक वर्ष ७८/७९ मा १८० जना पुरुष र ४३० जना महिला र आर्थिक वर्ष २०७९/८० मा २२७ जना पुरुष र ४७६ जना महिलाले जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।
मुलुकी देवानी संहिता २०७४ मा पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरेमा, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने कार्य गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान राखिएको छ ।
सम्बन्ध विच्छेदका घटना बढीरहेकोप्रति कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णु दत्त अवस्थी भन्छन्, ‘यो तथ्यांक बढनु भनेको सामाजिक विग्रह उत्पन्न हुनु हो । उनले परिवार–परिवार मिलेर समाज बन्ने भएकाले सम्बन्ध विच्छेदका घटना बढ्नु हाम्रो नेपाली समाजका लागि त्यति राम्रो नभएको बताए । जिल्ला अदालतको तथ्यांक विश्लेषण गर्ने हो भने पुरुषले दर्ता गराएका सम्बन्ध विच्छेदका मुद्दामा श्रीमती परपुरुषसँग लागेका कारणहरू बढी छन् ।
तर सबन्ध विच्छेदलाई अनुमति नदिने देशहरू यस प्रकार छन्
सबन्ध विच्छेदलाई अनुमति नदिने देशहरू फिलिपिन्स, भेटिकन सिटि,वर ब्रिटिस क्राउन डिपेन्डेन्सी अफ सार्क हुन् । फिलिपिन्समा, केही सर्त र प्रावधान पूरा नगरेसम्म सम्बन्ध विच्छेद गैर मुस्लिमलाई कानुनी छैन । भेटिकन सिटि इसाई चर्च र पादरीको राज्य हो, जहाँ सम्बन्ध विच्छेद को कुनै प्रक्रिया छैन । सम्बन्ध विच्छेद लाई हालसालै मात्र कानुनी बनाउने देशहरू इटाली, पोर्चुगल, यद्यपि १९१० देखि १९४० सम्म नागरिक तथा धार्मिक विवाहको लागि सम्भव थियो । ब्राजिल, स्पेन, अर्जेन्टिना कोलम्बिया १९७६ बाट गैर–क्याथोलिक मात्र अनुमति थियो ।


0 comment