काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र उनको आईसीयुमा उपचार भइरहेको ट्रमा सेन्टरले जानकारी दिएको छ ।
भृकुटिमण्डपस्थित रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । बुधबार खुकुरी प्रहारबाट घाइते भएका यादवलाई २ः२० बजे ट्रमा सेन्टर पुर्याइएको थियो ।
खुकुरी प्रहारबाट यादबको टाउको र पछिल्लो भाग गर्धनमा गहिरो घाउ भई रक्तश्राव भएको पाइएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार, टाउकोको सीटीस्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको र उनको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई Neurosurgery/ Orthopedic Surgery का विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ ।
Observation का लागि यादबलाई ट्रमा सेन्टरको आईसीयुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


0 comment