काठमाडौं - गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि धरानमा निषेधाज्ञा जारी भएको छ। 

जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो। आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।। 

धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भीडीयो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए। उनीहरुले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान गरेका थिए। हिन्दु समर्थकहरुले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद‍्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो। प्रशासनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सदभाव भड्काउने जो कोहिलाई पनि पक्राउ गरी कारबाही गरिने चेतावनी समेत दिएको छ ।

धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताए । धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

सो अवधिमा अत्यावश्यक कामबाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली/भेला जम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेशमा भनिएको छ।