काठमाडौं - तटबन्ध भत्किएपछि राप्ती नदी बस्तीतिर पस्न थालेको छ।
बाँकेको फत्तेपुर क्षेत्रमा बस्ती र खेतीयोग्य जमिन जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि राप्ती नदी जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको हो। नदी बस्तीमा पस्ने डरले सोनारी र नरैनापुरका तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित छन्। सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो। सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ। तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ।
तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा डुबानको जोखिम बढेको छ। नदी नियन्त्रणका लागि थुपारिएका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाइएका तटबन्धसमेत राप्तीले बगाएको छ।
तारजालीबिना खसालिएका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको हो। गत वर्ष असोजमा बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्काएको थियो। बचेको तटबन्ध र सडक राप्तीले अहिले भत्काइरहेको छ।
जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि गत असोजमा ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई पत्राचार गरे पनि चासो नदिएकाले राप्ती सोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ५ र ६ नं वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले बताए।
राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिम मानिएका राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए। लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिनका लागि तत्काल ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम थालिएको उनले बताए।
'तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ', नायकले भने, 'मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो।' उनका अनुसार नदी नियन्त्रणका लागि राखिएका ढुङ्गा राप्तीले बगाइसकेको छ।
नदी नियन्त्रणका लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा बारम्बार पहल भए पनि कुनै सुनुवाइ हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताए।


0 comment