काठमाडौं - संखुवासभाको पाँचखपन–६ की एक ८ वर्षीया बालिका बलात्कारको घटनामा पीडित परिवारलाई ४ लाख रुपैयाँ दिएर मिलापत्र गरेको खुलेको छ।
पाँचखपन–६ को वाना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठले ८ वर्षीया बालिकालाई बलात्कार गरेको र बलात्कारपछि वडाअध्यक्षसहितका स्थानीयले पीडित परिवारलाई ४ लाख रुपैयाँ दिएर घटना मिलापत्र गरेको घटना सार्वजनिक भएको हो।
श्रेष्ठले एक महिना अगाडि बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेपछि गाँउभरी हल्ला फैलिएको थियो। हल्ला फैलिनेवित्तिकै वडाध्यक्ष विष्णुकुमार श्रेष्ठसहितका स्थानीयले परिवारलाई दबाबमा पारेर मिलापत्र गराइएको थियो।
वडाध्यक्ष श्रेष्ठले आफ्नै रोहवरमा पीडित परिवारलाई ४ लाख रुपैयाँ दिएर बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने गैरकानुनी काम मात्र गरेनन् । उनले स्थानीयलाईसमेत दबाबमा राखेर यो घटनाको कसैले कतै कुरा नगर्न दबाब समेत दिए।
पाँचखपन–६ का वडासदस्य रामबहादुर मगरले बालिका बलात्कारको घटना स्थानीय जनप्रतिनिधिकै रोहबरमा मिलापत्र गराइएको पुष्टि गर्दै अभियुक्तलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न माग गरेका छन्।
बलात्कारपछि बालिकालाई उनकी आमाले तत्काल काठमाडौं लगेर उपचार गराएकी छन् भने आरोपित श्रेष्ठ खुलेआम हिँडिरहेका छन्।

0 comment