हरि चौधरी,
काठमाडौं – हतुवागढी गाउँपालिका–४ घर भएका २७ बर्षिय गोविन्द राई र उनकी प्रेमिकासँगको शारिरिक सम्पर्कपछि प्रेमिका गर्भवती भएकी थिइन् । प्रेमिकाको स्वास्थ्यमा समस्या देखिएपछि गत असार १३ गते गोविन्दले उनलाई विराटनगर अस्पताल चोकबाट पश्चिम तर्फ ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश क्लिनिकमा लगेका थिए । क्लिनिकमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परिक्षण गरेका थिए र युवती नौ महिनाको गर्भवती भएको उनले बताए । क्लिनिकमा परिक्षणपछि प्रसुतिको समय भएको भन्दै डा. तपेश्वरलाल कर्णले ग्रीनक्रस अस्पतालमा भर्ना गर्न सल्लाह दिएका थिए । डा. कर्णकै सल्लाहमा आफ्नो नाम मानबहादुृर तामाङ र प्रेमिकाको नाम फूलमाया तामाङ लेखाएका गोविन्दले ठेगाना भने सुनसरीको रामधुनी लेखाएका थिए ।
नर्मल डेलिभरी मार्फत युवतीले छोरीलाई जन्म दिइन् । बच्चाको उपचार भइरहेको भन्दै गोविन्दले सोही दिन उनलाई डिस्चार्ज गरेर इटहरी तर्फ लगेका थिए । इटहरीमा लगेर उनले होटलमा राखे । युवतीले बच्चा खोज्दा उपचार भइरहेको भन्ने गोविन्द २ दिन पछि अस्पताल जान्छु भन्दै एकाएक सम्पर्क विहिन भएका थिए । होटलमा अलपत्र परेकी सुत्केरी युवतीले आफुले जन्माएकी छोरी र प्रेमी गायब भएपछि साउन ३२ गते प्रहरी कार्यालय मोरङ पुगेर जाहेरी दिएकी थिइन् । उनको जाहेरीको आधारमा प्रहरीले शुक्रबार गोविन्दलाई र डाक्टर कर्णलाई पक्राउ गरेको थियो । सुत्केरीको प्रेमिका र बुवाकै सहमतिमा अस्पतालका डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख रुपैयामा बच्चा विक्री गरेको प्रहरीको दाबी छ । शिशुलाई मोरङको कटहरी गाउँपालिका – २ बाट उद्दार गरेको छ । उद्दार गरिएकी शिशुको अवस्था भने सामान्य छ ।
असार १४ गते विराटनगरको ग्रीनक्रस अस्पतालमा जन्मिएकी नवजात शिशुलाई सोही दिन गायब गरिएको थियो । प्रहरीका अनुसार प्रसूति खर्च बापत राईसँग डाक्टरले ३५ हजार रुपैयाँ लिएका थिए । राईले बच्चा लैजान नचाहेपछि डाक्टर कर्णले कर्मचारी मार्फत बच्चा लैजाने मान्छे खोजेका थिए । बच्चा चाहाने मान्छे आएपछि उनीहरुसँग पाँच लाख रुपैया लिएर बच्चा बेचेका थिए । बच्चा विक्री गर्न सहयोग गर्ने अस्पतालकी कर्मचारी सुधा राजवंशी, डाक्टर कर्णको क्लिनिकी कर्मचारी निर्मला यादव, बच्चा खोजिरहेकी दीलमाया राजबंशी र उनका छोरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
छोरा सूर्यनारायण र बुहारी श्यामवतीको बिहेको १० बर्षसम्म पनि बच्चा नभएपछि असार १४ गते अस्पतालबाट बच्चा लिएर गएको दीलमायाले बताइन् । बच्चा लैजादा सुरुमा ५० हजार रुपैयाँ डाक्टरलाई दिइन् पछि पाँच लाख रुपैया दिएकी थिइन् । ‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्, रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्देछौं’, मोरङका डिएसपी रञ्जनकुमार दाहालले भने, ‘घरमा लगेपछि शिशु बिरामी भएछन्, त्यसपछि विराट मेडिकल कलेजमा लगेर उपचार गरेको देखियो ।’


0 comment