काठमाडौं - ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग नेपाली नागरिकतासमेत भेटेको छ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘हामीले सुनको अनुसन्धान गरिरहेका छौं। यो क्रममा पक्राउ परेका केही चिनियाँ नागरिकसँग नेपाली नागरिकतासँगै केही नेपाली सरकारी कागजात पनि फेला परेको छ। नेपाली नागरिकता लिने अधिकांशले काभ्रे जिल्लाबाट नागरिकता लिएको पाइएको छ। यो गम्भीर विषय हो।’
प्रहरीका अनुसार सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकहरू टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन्। चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको छ।
उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ। ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँग काभ्रेबाट नागरिकता बनाउने पाँच जना विदेशी भएको खुलेको छ। स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीले राजनैतिक संरक्षणमा ३ सय ५० जनालाई नेपाली नागरिकता बिक्री गरेको खुलेको छ।
काभ्रेका प्रजिअ पुण्यविक्रम पौडेलका अनुसार यही साउन महिनामा मात्रै झुटा विवरण पेस गरी नागरिकता बनाएका १६ जनाको नागरिकता रद्द गर्नका लागि प्रहरी कार्यालयमा निवेदन पठाइएको छ। पौडेल भन्छन्, ‘एकपछि अर्को शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ र प्रतिलिपिमा कडाइ गरेका छौं’। ’
प्रहरी हिरासतमा रहेका दावासँगै एकै मितिमा पाँच जना चिनियाँ मूलका व्यक्तिले नागरिकता लिएको प्रमाण प्राप्त गरेको छ। २०७४ पुस २० गते दावाले नमोबुद्ध ११ को स्थायी ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए।
उनीसँगै सोही ठेगाना र बुवाआमाको नाम पनि उस्तै राखेर चिनियाँ नागरिकले पासाङ लामाको नाममा नागरिकता लिएका थिए। उनीहरू दुवैको बाबुको नाम पेमा तामाङ राखिएको छ। ‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी भेटिएको छ। सुन प्रकरणमा पक्राउ परेका छन् राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते नेपाली राहदानी लिएका हुन्।

0 comment