काठमाडौं - नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएकाले सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक प्रमाणपत्र प्राप्ताङ्क थपघट गरेकोले पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी शैक्षिक प्रमाणपत्र नक्कली भएको यकिन गरी पक्राउ गरेको र पक्राउ परेका सातैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।