काठमाडौं - त्रिभुवन विश्वविद्यालयको शुक्रबार भएको बीबीएस दोस्रो वर्षको लेखा विषयको प्रश्नपत्रको उत्तर वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थीको ह्वाट्सएप ग्रुपमा पठाईएको भेटिएको छ।

योसँगै ठाकुरराम क्याम्पसका परीक्षार्थीबाट रकम लिएर प्रश्नपत्र आउट गरी उत्तर मोबाइलको ह्वाट्सएप ग्रुपमा पठाईएको खुलेको छ । शुक्रबार वीरगन्जमा परीक्षा चलिरहेका बेला प्रहरीले ह्वाट्सएप ग्रुपमा आएको उत्तर लेखिरहेका परीक्षार्थीहरूबाट १ सय ५० वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले एक जना परीक्षार्थीलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ११ घर भएका ठाकुरराम क्याम्पसकै परीक्षार्थी सिद्धार्थ चौधरी रहेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

वीरगन्जमा त्रिभुवन विश्वविद्यालयको परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने क्रम अझै रोकिएको छैन। यसअघि गत बुधबार पनि ठाकुरराम क्याम्पसकै विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनका लागि उत्तरपुस्तिका नै हेरफेर गर्दै गरेको अवस्थामा क्याम्पसको परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र परीक्षा केन्द्रका केन्द्राध्यक्ष विनोद स्वर्णकारलाई रंगेहात पक्राउ परेका थिए। 

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षा गत बुधबारदेखि वीरगन्जस्थित त्रिजुद्ध माविमा चलिरहेको छ। परीक्षाको तेस्रो दिन शुक्रबार लेखा विषयको परीक्षा थियो। 

ह्वाट्सएप ग्रुपबाट उत्तर सार्ने परीक्षार्थीहरूबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइलहरू भने परीक्षा केन्द्रका केन्द्राध्यक्ष नवीन श्रीवास्तवले सम्बन्धित विद्यार्थीहरूलाई नै फिर्ता दिएका छन्। जबकी त्रिवि परीक्षा नियमावलीमा परीक्षा हलभित्र परीक्षार्थीले परीक्षाको मर्यादा भंग हुने किसिमको कुनै गतिविधि गरेको फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा नै रद्द गर्नसक्ने वा कारबाहीका लागि त्रिवि परीक्षा बोर्डमा सिफारिस गर्न सक्ने अधिकार परीक्षा केन्द्रका केन्द्राध्यक्षमा रहन्छ। केन्द्राध्यक्ष मिश्रले उत्तर सारिरहेकै अवस्थामा भेटिएका परीक्षार्थीहरूलाई कुनै कारबाही नगरी परीक्षा सकिएपछि मोबाइलहरू फिर्ता दिनुले उनको भूमिकामाथि पनि प्रश्न तेर्सिएको छ। 

प्रारम्भिक अनुसन्धानबाट उक्त ह्वाट्स ग्रपुमा १ हजार २२ जना परीक्षार्थी जोडिएको प्रहरीले जनाएको छ । उक्त ह्वाट्सएप ग्रुपको एड्मीनले प्रत्येक विषयको परीक्षा हुने दिनको लागि परीक्षार्थीबाट ३ देखि ५ हजार रुपैयाँ लिएर परीक्षार्थीलाई ग्रुपमा जोड्ने गरेको जनाईएको छ । ग्रुपमा दुई जना एड्मीन रहेको र दुवै नम्बर साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।

परीक्षा सुरु भएलगत्तै ग्रुपमा प्रश्ननपत्र अनुसार उत्तर क्रमशः आउन सुरु भइ हुने गरेकोले प्रश्नपत्र परीक्षाको एक/दुई दिन अगावै आउट भएको हुनुपर्ने प्रहरीको अनुमान छ । 

काठमाडौंबाट त्रिवि परीक्षा बोर्डले पठाएका प्रश्नपत्र सम्बन्धित क्याम्पसले प्रहरीको सुरक्षामा नराखी आफैंले राख्ने गरेको छ। परीक्षाको दिन परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा केही समय पहिले ल्याएर प्रश्नपत्रको खाम खोलिने हुँदा क्याम्पसमा प्रश्नपत्र राखिएकै ठाउँबाट आउट गर्ने गरिएको आशंका ती प्रहरीको छ।  

ठाकुरराम क्याम्पसमा रकम असुलेर परीक्षामा पास गराउने धन्दा संस्थागत रुपमै चल्दै आएको देखिन्छ। प्रहरीले यो धन्दा चलाउने गिरोहका दुई जनालाई गत बुधबार पक्राउ गरिसकेको छ। धेरै जनाको पहिचान भइसकेपनि जरैसम्म पुग्नु पर्ने भएकाले उनीहरूको नाम अहिले नखुलाइएको प्रहरीले जनाएको छ ।