काठमाडौं - सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ। सुदूरपश्चिममा भाद्र संक्रान्तिलाई ओल्के पर्वको रुपमा मनाउने गरिएको छ । ओल्के पर्वलाई चाडबाड भित्रिएको संकेतको रुपमा लिइने भएकाले सुदूरपश्चिममा यस पर्वलाई जेठो पर्व मानिन्छ। डोटेली भाषामा ओल्के भन्नाले कोसेली भन्ने बुझिन्छ । नयाँ उब्जनी भएको कृषि उपजलाई देवताको नाममा चढाउने र त्यसपछि आफूभन्दा ठूलाबडा मान्यजन, इष्टमित्र, ज्येष्ठ नागरिकलाई दिने कोसेलीको रुपमा दिने गरिन्छ जसलाई ओल्को दिएको भनिन्छ । यस पर्वमा नयाँ उब्जनी भएको मकै, कर्कलोको भित्रि पात लगायतका नयाँ उब्जनी देवताको थानमा चढाउने गरिन्छ । त्यसपछि मात्रै खाने गरिन्छ। यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूरपश्चिममा धुमधामसँग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ।
ओल्को लिनु दिनु सुदूरपश्चिमको संस्कृति, परम्परा र आस्थाको प्रतीक हो। सुदूरको लोकजीवनमा वर्षाको यामलाई अती विपत्तिको एकांकी समय मानिन्छ। बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ। शायद यसै पृष्ठभूमिमा यो पर्वको सुरुवात भएको हुनु पर्दछ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।शिल्पकर्मीहरूले आ-आफ्ना सिर्जनासमेत पठाउन सक्दछन्। अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा “बुढी हालेको” भन्दछन् । यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ । कालक्रममा केही वर्ष अघिसम्म ठूलाबडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रूपमा समेत ओल्कोको व्याख्या गरिएको देखिन्छ । कथित ठूलाठालुहरूले ओल्को ल्याउनेलाई वक्सिस दिन्थे रे । तर यो मनोदसा अब समाप्तिको क्रममा छ ।
भनिन्छ, ओल्के संक्रान्तिमा सतरति (सातरातको झरि) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ। यसैताका धर्तिले नवीन सिर्जना गर्न थाल्छिन्। प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ। पाखा पखेरामा पानीका नयाँ मुहान फुट्न थाल्छन् । पृथ्वी पुन: कञ्चन बन्छिन् । सुदूर पश्चिममा के विश्वास छ भने यो बेला पहाडका खोलानालासमेत समुद्रलाई ओल्को पुर्याउँछन् । खोलानाला यति हौसिएका हुन्छन् कि महाकालीलाई समेत हल्लाउन भ्याउछन् ।
एउटा स्थानीय लोकगीतमा भनिएको छ- ‘काली गङ्ङा हचको दिनछै धन्न बुका खोला (अर्थात काली नदीलाई समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।’ यसरी साउनको रात सकिएपछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्वहरू यस्तै समयमा नयाँ लय दिन्छन् । ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग (अर्थात् देउडा गित) गायनको महान् अवसर ।
भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ। विचरा सोझा पहाडी खोलाहरु रातदिन विवाहको जोरजाममा खटिन्छन्। विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पुरा हुँदैन ।
यो प्रतीकात्मक उपकथामा वर्णित पहाडको प्रकृति र सुदूरको वर्तमान नियतिमा गजवको साम्यता छ। यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढी हाल्ने गर्दछन् । विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका ग्वाला साथीहरुले पुतनाको शव दहन गरेको कथन रहे अनुसार यो पर्व मनाइन्छ ।


0 comment