काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल बरामद भएको भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै निस्किएको छ।  

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार 'ब्रेक सु' बाट छुटाएको सुन गालिएको थियो। सोमबार 'ब्रेक सु 'बाट सुन छुट्याउने काम भएको थियो। 'ब्रेक सु' बाट छुट्याएको सुनको तौल ६० किलो ७८९ ग्राम थियो। पगाल्दा सुन ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन गालेर ३४ वटा विस्कुट बनाईएको छ। अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने अनि त्यसपछि मात्रै सुनको वास्तविक गुणस्तर आउने उनले बताए।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर सिनामंगलबाट साउन २ गते बरामद गरिएको थियो। सो सुनको वास्तविक परिमाण पत्ता लगाउन गालिएको हो।

विमानस्थलबाट चेकजाँच भइ बाहिरिएको क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। पछि सो सुन जोख्नका लागि टक्सार महाशाखामा लगिएको थियो।

सुन प्रकरणको अनुसन्धान सुरूमा राजस्व अनुसन्धान विभागले गरेपनि पछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको हो।  सुन तस्करी प्रकरणमा हालसम्म १६ जना बढी व्यक्ति पक्राउ परिसकेका छन्।