काठमाडौं - भन्सार बाहिर समातिएको ६० किलो सुन प्रकरणमा थप २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई गएराती काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको विवरण भने खुलाईएको छैन ।

प्रहरीले बिहिबार पनि सोही प्रकरणमा ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन्। 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। हङहङबाट 'ब्रेक सु' को नाममा भित्रिएको तस्करीको सुन १०० किलो बढी भएको बताइएको थियो। तर, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार 'ब्रेक सु' बाट छुट्याएर पगाल्दा सुनको तौल ६० किलो ७१६ ग्राम मात्रै निस्किएको थियो।

पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ।