काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्राथमिक सेयर निष्काशनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने बताएका छन् ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनरसंचरना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको जानकारी दिए।

उनले भने,'प्राधिकरणको सम्पूर्ण सम्पत्तीको वास्तविक मूल्यांकन गराइएको छ। क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ।'

उनले केही वर्षयता प्राधिकरण निरन्तर नाफामा रहेको दावी गरे। गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६६ करोड पुगेको उनको भनाइ छ।

घिसिङले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागी प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरण प्राधिकरणको प्रमुख प्राथमिकतामा रहेको बताए।