काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ले फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेका छन् ।
उक्त समूहले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरी त्यसबाट उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर हालसम्म १४ लाख ५८ हजार ठगी गरेको खुलेको छ । उनीहरुले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए । सीमान्तले आइडी ह्याक गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्थे, शुभेच्छा तथा अनुपले वालेटमा आएको रकम झिक्ने काम गर्थे भने रोहनले उनीहरुलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
प्रहरीका अनुसार २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् ।
पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

0 comment