- शम्सेर क्षेत्री

सिन्धुपाल्चोक – नेपाल एउटा यस्तो देश हो जहाँ ऋषिमुनिहरूको तपोभूमि भनेर चिनीन्छ । यहाँ कयौं ऋषिमुनिहरूले तपस्या गरी शिवशक्ति स्वरूपमा लीन भएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा पाइन्छ । यसै प्रसङ्गमा कपिलमुनिले पनि नुवाकोट जिल्लाको कविलास डाँडामाथि देवाधिदेव महादेवको तपस्या गरी शिव स्वरूप बनी कपिलेश्वर पशुपतिनाथको स्थापना गर्नुभएको हो ।

कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पनि पूजित हुनुहुन्छ । भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिरहरू स्थापना गरिएका छन् । त्यहाँ व्यापक रूपमा कपिलमुनिलाई विष्णु भगवान्कै रूपमा पूजा अर्चना गर्ने गरिन्छ । नेपालको कपिलवस्तु जिल्ला पनि कपिलमुनिकै नामबाट बनेको हो । कपिलमुनिले स्थापना गर्नुभएको बस्ती भएकाले नै कपिलवस्तु नाम रहन गएको किम्ब दन्ति छ । कपिलवस्तुका राजा शुद्धोधनका छोरा गौतम बुद्ध यही भूमिमा जन्म भई विश्व शान्तिका अग्रदूत बनेका हुन् । 

कपिलेश्वर महादेवको परिसर नुवाकोट जिल्लाकै महत्त्वपूर्ण देवस्थल हो । त्यसैले यस क्षेत्रलाई कपिलेश्वर धामकै रूपमा लिन सकिन्छ। यो देवस्थल लिखुर तादी नदीको बीचमा पूर्वपश्चिम भै उठेको कविलास नामकै पहाडको टुप्पोमा रहेको छ । यो पहाड समुद्र सतहबाट ४५०० फिट माथि पर्दछ । लिखु र तादी नदीको सतहदेखि करिब २ देखि साढे २ घण्टाको उकालो चढेपछि माथि मन्दिरमा पुगिन्छ । यस महादेवको दक्षिणपट्टि ठिक मुनितिर बाक्लो दनुवार बस्ती भएको गाउँ आँपचौर रहेको छ ।

कपिलेश्वर महादेवको स्थापना मध्य मल्लकालतिर भैसकेको कुरा त्यहीँ रहेको एक शिलालेखबाट पनि थाहा हुन्छ । बिहानबेलुका नित्यपूजा तथा आरती ब्राह्मण पुजारीबाट भइरहेको छ। पुजारीले पूजा गरिरहँदा दमाईंले एउटा दमाहा मात्र बजाइरहने चलन रही आएको छ । श्री कपिलेश्वर महादेव स्थानको पहाडमा उक्लिँदा श्री रक्षा विनायक हुँदै पातालदेवी, सिद्धि विनायक, सरस्वती, नात्येश्वर, महालक्ष्मी स्थान हुँदै उकालो चढ्दै गएपछि अन्त्यमा पहाडमाथि कपिलेश्वर मन्दिर पुगिन्छ ।

पशुपति महादेवको जस्तै चार ढोकाबाट दर्शन गर्न सकिन्छ । मन्दिरभित्र गएर पूजा गर्न पनि सकिन्छ । पशुपतिनाथको जस्तै चतुर्मुखी शिवलिङ्ग भएको कपिलेश्वर महादेव अत्यन्तै आकर्षक देखिन्छ । देवाधिदेव महादेवको चतुर्मुखी भएको शिवलिङ्गमा उर्ध्वमुख अर्थात् ईशान मुख समेत गरी पञ्चमुखी महादेवको रूपमा मानिन्छ । उक्त पञ्चमुखमा पूर्वमा तत्पुरुष, पश्चिममा सयोजग्र, उत्तरमा वामदेव, दक्षिणमा अघोर र उर्ध्वमा ईशानस्वरूप रहेका छन् । शिवजीका प्रत्येक मुखमा रहेका तीन आँखा सूर्य, चन्द्र र अग्नि मानिएका छन् । देवाधिदेव महादेवका यिनै स्वरूपमा रहेका कपिलेश्वर महादेवको अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्वले भरिएको छ । 

“यहाँ एउटा अचम्म लाग्ने कुरा के छ भने, यो मन्दिरमा सुनकोसी र बलेफी नदीको ठुलो भेल छिर्दा पनि मन्दिरमा रहेका सामानहरु जस्ताको त्यस्तै हुन्छन् । नदीले मन्दिरमा रहेका समानहरुलाई कहिले बगाउँदैन । यसरी मन्दिरलाई नदीले हानी न पुर्‍याएको देख्दा यो सबै कपिलेश्वर महादेवको कृपा र शक्ति भएको स्थानीयबासीहरु बताउँछन् । ”

काठमाडौ बाट ७२ किलोमिटरको दुरिमा रहेको यो मन्दिरमा टाढा–टढा बाट भक्तजन हरु भगवानको दर्शन गर्नका लागि सयौको सङ्ख्यामा आउने गर्छन् । यहाँ आएर दर्शन गरेमा आफुले चाहेको मानको कुरा पूरा हुने जन बिश्वासको धारणा रहेको छ । यस देवस्थलको संरक्षण, सम्वर्द्धन र विकास गर्ने कार्यमा यथाशीघ्र सम्बन्धित निकाय, सरकार र सम्पूर्ण भक्तजनहरूले चासो राख्नुपर्ने देखिन्छ । यस्तो पवित्र स्थल कपिलेश्वर धामको विकास गरेर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सकेमा त्यस क्षेत्र र कविलास गाउँकै विकास निर्माणमा ठूलो योगदान पुग्नुका साथै अति प्राचीन धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक धरोहरको जगेर्ना भइरहनेछ ।