काठमाडौं – पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई तत्काल पक्राउ गरी बयान लिन एमालेले माग गरेको छ ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाउँदै पक्राउ गर्न माग गरेको हो ।
आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बोल्ने क्रममा ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म सामान्य बयानसम्म गराउन नसकेको प्रति आपत्ति जनाएका छन् । साथै १०० किलो सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबीन समिति बनाउनुपर्नेमा एमालेले जोड दिएको बताए तर सरकारले सत्तापक्ष र विपक्षलाई फरक व्यवहार गरेको उनले बताएका छन् ।
नेपाल प्रधानमन्त्री हुँदा ०६६ चैत २९ गते ललिता निवासको जग्गामा “विशिष्ट व्यक्ति” को निवास विस्तार गर्ने निर्णय भएको थियो । सरकार अन्तर्गतको समरजंग कम्पनीका नाममा मोही जनिएको ललिता निवासको जम्मा क्षेत्रफल यकिन गरी सोमा मोही भाग कट्टा गरी बाँकी रहने क्षेत्रफल एवं साविक बाटो तथा राजकुलो यकिन गरी १४ रोपनी १० आना ३ पैसा २.५ दाममा प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने निर्णय गरिएको थियो ।
न्यायाधीश अनिलकुमार सिन्हा र डा.कुमार चुडालको संयुक्त इजलासको आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरू, मन्त्रालय स्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेस गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको पिरामिडको माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नु गराउनु भनी यो आदेश जारी गरी दिएको छ ।


0 comment