काठमाडौं – अमेरिकामा जर्ज फ्लोयडको हत्या र नेपालमा नवराज विक समेतको हत्यामा चर्किएको विवादमा बुझ्नुपर्ने कुरा भनेको मानिस मानिसको विभेद मानिस आफैंले सिर्जना गरेको हो प्रकृतिले हैन । विभेदका अनेक रुपहरु छन् सेतो, कालो, धर्म, सम्प्रदाय, वर्ण, जात, पूर्व, पश्चिम यस्तै अनेक । नेपालमा यो विभेद मूलतः वर्ण व्यवस्था र त्यसको उपविभाजन जात जातिमा मात्र नभएर भूगोल, शरीरको बनोट, भाषा, भेष, वर्गको आधारमा समेत व्यापक छ । हाम्रो प्राचिन वर्ण व्यवस्था र त्यसभित्रको जातीय विभाजनले सिर्जना गरेको अमानविय परिदृश्य र अबको आवश्यकताको बारेमा बहस हुनु आवश्यक छ ।
जन्मदै जात तोकिनु,उहीँ जातीभित्र मात्र विवाह गर्नु, तोकिएको भोजन खानु, जात अनुसारको व्यवहार गर्नु, माथिल्लो तल्लो श्रेणी बन्नु , एक कथित उच्च जातले हेप्नु र तल्लो जात हेपिनु यो सबै जातीय व्यवस्थाको विशेषता हुँदै आएको हो । अहिले प्रचलित जात–जाति आ–आफ्नो पेशा, सिपको कारणबाट बनेका हुन् । मानिसहरुबीच कामको बाडँफाडँ गर्दा उक्त काममा दक्षता हासिल हुने, एक–अर्कामा आश्रित हुँदा एक्यवद्धता र सामाजिक सद्भाव बढ्ने हेतुले पेशाको आधारमा जात छुट्याइएको थियो जुन पछी संस्थागत गरियो । तसर्थ मानिस आफैले छुत (ब्रह्माण, क्षेत्री) र अछुत (वैश्य, शुद्र) जातीमा मानिसको विभाजन गरिदिए । अम्बेडकर भन्छन “शुद्रहरु आर्य जातीकै मानिस हुन् ।”
जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको यथार्त उदहारण छन् । उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवा–छुत र भेदभाव भोग्नुपर्ने स्थिति अद्यापि ज्यूँकात्यूँ छ । दलित जाति आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् । बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् ।
मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।
संसारमा देखा परेको सबै जातीय समस्याहरूमध्ये “छुवाछुत” सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो । आहुतिले भने झैं दलितहरूले बषौं देखि भोग्न विवश छुवा–छुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाँच्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ । आर्थिक, सामाजिक हिंसाको मारमा दलित महिला छन् । समाजमा चौतर्फी हिंसा र उत्पीडनमा रहेका दलित महिलाको सवाल नीति निर्माण तहमा बहसको विषय बन्न अझै सकेको छैन । दलित महिला सङ्घले गरेको एक अध्ययन अनुसार दलित महिला जातीय, लैङ्गिक, आर्थिक, सामाजिक हिंसाबाट सबैभन्दा बढी प्रभावित हुँदै आएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर गरिएको सो अध्ययनमा दलित पुरुषभन्दा दलित महिला बढी जातीय विभेदमा पर्ने गरेका छन् । गैरदलित महिलाभन्दा दलित महिला लैङ्गिकलगायत आर्थिक–सामाजिक हिंसामा परेका छन् ।
अध्ययनअनुसार वि.सं. २०७७ कात्तिकदेखि २०७८ असोजसम्म दलित समुदायमाथि जातीय भेदभाव तथा छुवा–छूतका विभिन्न प्रकृतिका ६७ वटा घटना भएका छन् । उक्त एक वर्षमा छ जनाको जातीय भेदभाव तथा छुवा–छूतकै कारण हत्या भएको छ । पाँच जना आत्महत्या गर्न बाध्य भएका छन् । १९ वटा जातीय भेदभाव तथा छुवाछूतका घटना भएका छन् । १५ वटा घटना कुटपिटका छन् । जबरजस्ती करणीको सङ्ख्या ११ छ भने अन्तरजातीय विवाहका घटना सातवटा छन् । गाली–गलौजका घटनाको सङ्ख्या तीन छ ।
जातीय भेदभाव तथा छुवा–छूतका कारण दलित समुदायमाथि भएका विभिन्न घटनामा दलित पुरुषभन्दा दलित महिला बढी पीडित भएका छन् । कुल ६७ वटा घटनामा दलित महिलामाथि ४१ वटा घटना भएका छन् । कुल घटनामा ६३.६३ प्रतिशत घटना दलित महिलामाथि भएका छन् । दलित पुरुषमाथि २४ वटा घटना भएका छन् । जुन ३४.८४ प्र्रतिशत हो । वर्षभरि छ जनाको हत्या हुँदा चार जना (६६.६६ प्रतिशत) दलित महिलाको हत्या भएको छ । दुई जना (३३.३३ प्रतिशत) दलित पुरुषको हत्या भएको छ ।
पाँच जनाको आत्महत्या हुँदा चार जना दलित महिला छन् । १९ वटा जातीय भेदभाव तथा छुवाछूतका घटना हँुदा दलित महिलामाथि १२ वटा भएका छन् । सातवटा घटनामा दलित पुरुष पीडित छन् । ११ वटा जबरजस्ती करणीको घटनामा १० जना दलित महिला छन् । सातवटा अन्तरजातीय विवाहका घटनामा पाँच जना दलित महिला पीडित भएका छन् ।
जातीय भेद–भाव तथा छुवा–छूतका घटनाका साथै दलित हत्या र जबरजस्ती करणीका घटना अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा बढी भएका छन् । कुल ६७ वटा घटनामध्ये २२ वटा घटना मधेस प्रदेशमा घटेका छन । त्यसपछि प्रदेश १ मा घटेका छन् । बागमती प्रदेशमा नौवटा घटना भएका छन् । गण्डकी र लुम्बिनी प्रदेशमा सात–सातवटा घटना भएका छन् । सुदूरपश्चिममा छ वटा र कर्णाली प्रदेशमा सबैभन्दा कम पाँचवटा घटना भएका छन् । हत्या, जातीय भेदभाव तथा छुवाछूत र जबरजस्ती करणीका घटना पनि मधेस प्रदेशमा बढी भएका छन् । जबरजस्ती करणीका कुल ११ घटनामध्ये सातवटा प्रदेश दुईमा छन्।
राष्ट्रिय दलित आयोगको तथ्याङ्कले पनि जातीय भेद–भाव तथा छुवा–छूतका घटनामा दलित पुरुषभन्दा दलित महिला बढी पीडित भएको देखाउँछरु। आ.व. २०७७/७८ मा दर्ता भएका ३६ वटा घटनामध्ये १९ वटामा दलित महिला पीडित छन् । जुन ५२.७७ प्रतिशत हो । दलित पुरुष १७ वटा घटनामा पीडित भएका छन् । जुन ४७.२२ प्रतिशत हो । पछिल्ला अध्ययनले दलित महिलाको अवस्था निकै दयनीय र जोखिमपूर्ण देखिन्छ। दैनिक रूपमा दलित महिला जातीय विभेद र लैङ्गिक हिंसामा परेका छन् । जबरजस्ती करणीको सिकार भएका छन् ।
यसले दलित मानव अधिकार अवस्थाको उजागर गर्छ । दलित समुदायले मानव अधिकारको आधारभूत मान्यतालाई समेत अनुभूति गर्न पाएका छैनन् भन्ने देखाउँछ । संविधान र कानुनी हक–अधिकारको अनुभूति गर्न नपाएको देखाउँछ। नागरिकको सुरक्षा गर्ने, संविधान र कानुन कार्यान्वयन गर्ने दायित्व राज्यको हो तर यो विषयमा राज्यको उपस्थिति सन्तोषजनक देखिँदैन। संविधान र कानुनमा भएका दलित हकअधिकारलाई अक्षरशः कार्यान्वयन गर्न राज्यलाई थप जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । जहाँ बढी समस्या छ, त्यहाँ सिधा सम्बोधन गर्ने संरचना र नीतिको आवश्यकता छ ।
नेपाली समाजका विभेदपूर्ण सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक र राजनीतिक मान्यता र परम्पराहरु दलित महिलाको मानव अधिकार हनन्का कारक तत्वहरु हुन् । विशेषतः परम्परावादी, सामन्तवादी राज्य सत्ता र जातीय विभेदका कारण गरिबी र अशिक्षामा रुमल्लिएका दलित महिला आफ्नो हक र अधिकारको संरक्षण तथा प्रबद्र्धनका लागि आवाज उठाउन पछि परिरहेको अवस्था छ । विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरु र राष्ट्रिय कानुनहरुका वावजुद पनि दलित महिलामाथि हुने विभिन्न निकृष्ट तहका मानव अधिकार हनन्का घटनाहरुमा कमी आएको छैन ।
दलित विरुद्धको पक्षपाती सोच, सरोकारवाला पक्षहरुमा जातीय भेदभाव तथा छुवा–छुत (कसुर र सजाय) ऐन, २०६८ सम्बन्धि जानकारीको अभाव र पीडक पक्षधरहरुबाट कानुनी उपाय अवलम्बन गरे डर, त्रास तथा धाक, धम्की दिने प्रवृत्ति, कानुनको कमजोर कार्यान्वयन लगायत घटना राजनीतिकरण हुने आदि कारणहरुले गर्दा यस्ता घटनाहरुका पीडितहरुले न्याय पाएका छैनन् । त्यसैले यस्ता घटनाहरुको सम्बोधनका लागि जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्न र गराउन तथा दलित महिलाको मानव अधिकारको संरक्षण तथा संवद्र्धनको लागि राज्यले र मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।
दलित महिला जात, लिङ्ग तथा वर्गको पदसोपानमा सबैभन्दा निम्न तहमा रहेका छन् साथै सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा संकटासन्न अवस्थामा छन् तथा सबै भन्दा निकृष्ट ज्यादतीहरु सहन विवश छन् । दलित महिलाको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक अवस्था अरु महिलाको भन्दा कमजोर रहेको छ । मानवअधिकारको अवस्था हेर्ने हो भने पनि अरु महिलाको तुलनामा दलित महिलाको अवस्था नाजुक छ ।
नेपाली समाजका विभेदपूर्ण सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक र राजनीतिक मान्यता र परम्पराका आधारमा दलित महिलामाथि हिंसा भईरहेका छन् । जातीय विभेदका साथै चरम गरिबी र अशिक्षाका कारणले अझै पनि आम दलित महिलाहरु आफ्नो पूर्ण अधिकार खोज्न सक्ने अवस्थामा नभएको कारण सामन्तवादी राज्य सत्ताबाट शोषणमा पर्दै आएका छन् । नेपालका दलित महिला, दलित भएकै कारण जातीय तथा लैङ्गिक रुपमा अझ बढी विभेद भोग्दै आइरहेका छन् र उनीहरुको समस्या अरु महिलाको समस्या भन्दा धेरै छन् ।
दलित महिलाका प्रमुख मुद्दाहरुमा जातीय भेदभाव तथा छुवाछुत, अन्तरजातीय विवाहका कारण पीडित, घरेलु हिंसा, हत्या, बलात्कार, बेचबिखन, गरिबी, अशिक्षा, चेतनाको अभाव, यौन शोषण, उच्च प्रजनन् तथा बाल मृत्यु दर हुन् । उनीहरुमाथि पुरातनवादी मूल्य र मान्यताहरु लाद्न गैरदलित तथा दलित समुदायबाट हिंसाको पनि प्रयोग हँुदै आएको छ । र यो परिपाटीलाई समाजमा दण्डहीनता तथा निर्लज्जताका साथ स्विकारिएको अवस्था छ । राज्यले पनि महिला अधिकारको संरक्षणको लागि केही कानुन बनाएको छ । तर दलित महिला भनेर छुट्याइएको छैन् । दलित महिलालाई अरु सरह सक्षम र सबल बनाउन तथा अधिकार प्राप्तिका लागि उनीहरुको सशक्तिकरण गर्न जरुरी छ ।


0 comment