काठमाडौं – पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध भएको भिमदत्त राजमार्ग अझै सुचारु हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका–४ स्थित खानीडाँडा नजिकै सडक भासिंदा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको थियो ।

पहिरो पन्छ्याउनका लागि मंगलबारदेखि प्रयास भइरहेको भएपनि लगातारको बर्षाका कारण समस्या भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । बुधबार बिहानैदेखि फेरि पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि लगातर पानी परिरहेकाले पहिरो पन्छ्याउने काममा समस्या भएको छ साथै राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेको प्रहरीले जानकारी दिएको छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भिमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहले राजमार्ग जतिसक्दो चाँडो सुचारु गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।