काठमाडौं – नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडिएको बताएका छन् । साथ सांसद शर्माले कडा सुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टल सुन भित्रिनु गम्भीर विषय भएको बताएका छन् । 

नेपाल देशको प्रतिष्ठामा प्रश्न उब्जिएको छ । एयरपोर्टबाट हाकाहाकी सुन यसरी प्रवेश किन र कसरी भयो भनेर प्रश्न उब्जिएको छ । यो बारेमा अनुसन्धान गर्ने निकायलाई बलियो बनाउने सन्दर्भमा सिंगो सदनको ध्यान पुगोस् सांसद शर्माले भने । उनले सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष नभइ फरक ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । यो विषयमा सत्तापक्ष प्रतिपक्षकोको मनोविज्ञानभन्दा फरक ढुंगले माथि उठेर सोच्नु पर्ने बताएका छन् । 

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ । छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी राख्ने जनाएको छ । मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताएका छन् । उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरेका छन् । उनले छानविन समिति गठनका लागि भोटिङ गराउन मागसमेत गरेका छन् ।