काठमाडौं – रोल्पाको बाघमाराबाट दाङ्ग घोराहीको लागि छुटेको यात्रुबाहक बस रिचिमा पल्टिंदा ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । १५ जना यात्रु लिएर बाघमाराबाट ना ५ ख २६१२ नम्बरको बस दाङको घोराहीका लागि छुटेको थियो । 

भौगोलिक विकटता र यातायातको असुविधाका कारण घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन नसक्दा थप मानवीय क्षति हुन सक्ने त्रिवेणी गाउँपालिका –७ का वडा अध्यक्ष भानबहादुर घर्तीमगरले जानकारी दिएका छन् । घर्तीका अनुसार, उद्धार कार्य जारी छ । अहिलेसम्म ५ जनाको मृत्यु भएको छ र उनीहरूको पहिचान हुन बाँकी छ ।

प्रत्यक्षदर्शीका अनुसार गाडी तीब्र गतिमा थियो । तिव्रगतिका कारण गाडी पल्टिएर सडकबाट करिब एक सय मिटर तल खसेको छ । ड्राइभरको लापरबाहीका कारण बस दुर्घटना भएको र यात्रुले अकालमा ज्यान गुमाउनु परेको अध्यक्ष घर्तीले बताए । 

घटना पश्चात उक्त बसका चालक भागेर प्रहरीको शरणमा पुगेको एक स्थानीयले बताएका  छन् ।