काठमाडौं – अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा यतिबेला जलमग्न भएको छ । 

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् । 

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको र डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ गर्ने काम भईरहेको कार्कीले जानकारी दिएका छन् । 

यसैगरी भारी वर्षाका कारण काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । जस्ले गर्दा सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।

यस्तै बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखा तथा प्रहरीले अनुरोध गरेको छ ।