काठमाडौं – नोभेम्बर २५ तारिखलाई ुमहिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसुका रूपमा विश्वभर मनाईन्छ । यो दिवसलाई १६ दिने चेतनामूलक कार्यक्रमका रूपमा मनाउने गरिएको छ । चेतना बढाइए पनि महिला हिंसा भने घटेको देखिँदैन । पत्रपत्रिका रेडियो टीभीमा दिनानुदिन महिला हिंसा सम्बन्धी समाचार आइरहेका हुन्छन् । 

बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन नेपाल सरकार, निजी विद्यालय वा गैर सरकारी संघ संस्थाबाट बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन नित्यान्त आवश्यक छ । बालिका, किशोरी र युवतीलार्ई हिंसाबारे चेतना कसरी जगाउने र परि आए प्रतिकार कसरी गर्ने ? कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू कसरी उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने बारे विज्ञ टोलीसंग प्रशिक्षण र परामर्शको तालिम लिन नित्यान्त आवश्यक छ ।

धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई तालिम दिन पनि आवश्यक छ । आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन् ? परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानूनी उपचारका लागि कहाँ जाने भन्ने विषयमा उनीहरुलाई सचेत र प्रशिक्षण दिन आवश्यक छ ।  

यस्तै हिंसाका घटनासँगै असुरक्षा बढेपछि झापाका किशोरीले आत्मरक्षा तालिम लिन थालेका छन् । तालिमले शारीरिक दुव्र्यवहारको पहिचान र प्रतिकार गर्ने शाहस जुटाएको तालिम लिएका किशोरीको भनाइ छ । महिलालाई हातपात गर्ने, यौनजन्य हिंसा गर्नेदेखि आक्रमण र कुटपिटसम्मका घटना हुने गरेका छन् । यस्ता घटनामा संलग्नलाई कानुनी कारबाही हुने भए पनि घटनास्थलमै प्रतिकार गर्न पनि आवश्यक पर्ने भएकाले यस्तो तालिम सञ्चालन गर्ने गरेको आत्मरक्षा सम्बन्धि तालिमका प्रशिक्षक अर्जुन लम्सालले बताउनुभएको छ । महिला तथा किशोरीले आत्मरक्षाको प्रभावकारी तालिम पाउन सके उनीहरुमाथि हुने हिंसा कम हुनेमा प्रहरी पनि सहमत छ ।

हिंसाका घटनाको प्रतिकार हुन थाल्यो भने पीडकहरु डराउने र हिंसा गर्ने आँट नगर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दीपक भारतीको भनाइ छ । प्रहरीका अनुसार झापामा गत आर्थिक वर्षमा महिला हिंसा र आक्रमणका १ सय ५५ वटा उजुरी परेका छन् । मेलापात गर्दा, विद्यालय तथा हाटबजार जाँदा–आउँदा बाटोमा, सार्वजनिक सवारी साधनमा, शिक्षालयमा पनि यस्ता घटना हुने गरेका छन् । हिंसाका घटना नियन्त्रणका लागि धेरै पक्षको हातेमालो आवश्यक पर्ने भए पनि युवती र किशोरीलाई आत्मरक्षाको तालिम एउटा बलियो हतियार रहेको सरोकारवालाहरु बताउँछन् ।