काठमाडौं – पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालकसहित तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको रामापिथेकस पार्क ड्याम साइट नाग मन्दिर नजिकै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि सोमबार बिहान करिब साढे ६ बजेतिर ढुंगा खस्दा तीनजना घाइते भएका हुन् ।
यसरी घाईते हुनेमा, पूर्वी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका–१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।
ढुंगा लागेर जीप कच्याककुचुक भएको छ । जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । सडकमा खसेको ढुंगा पन्छाएर सडक यातायात सुचारु गरिएको पाल्पा प्रहरीले जनाएको छ ।
घाइते तीनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

0 comment