काठमाडौं – सर्वोच्च न्यायाधीशका पीएस ओको पेस्तोल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । 

यसरी पक्राउ पर्नेमा, सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताएका छन् । 

प्रहरीका अनुसार, शुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पनी पक्राउ परेका थिए । 

घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको भनी खड्काले प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । त्यही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको ढुङ्गेलले बताएका छन् । 

प्रहरीले दुबैलाई नियन्त्रणमा लिई यसबार थप अनुशन्धान भई रहेको जनाएको छ ।