काठमाडौं - धनुषामा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मिथिला नगरपालिका-५ स्थित औरहीथान सामुदायिक वनस्थित जलाद खोलाको डाँडामा कुहिएको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए । उनका अनुसार दुई साताभन्दा बढीको शव हुनसक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धान पश्चात थप कुराहरु खुल्ने छ ।

घटनास्थलबाट बोरा र चप्पल बरामद भएको उनले बताए । एउटा बोराभित्रै ४ वटा चप्पल बरामद भएको छ । त्यो चप्पल पनि तीन रंगको छ,’ प्रहरी निरीक्षक राईले भने । शव फेला परेको महिलाको मानसिक सन्तुलन ठिक नभएको हुनसक्ने अनुमान रहेको उनको भनाई छ ।

शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।