काठमाडौं – बचत फिर्ता माग्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सहकारीमा आफूले राखेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू प्रदर्शनमा उत्रेका हुन् । रकम फिर्ताको माग गर्दै बिहीबार माइतीघरदेखि बानेश्वरतिर आउँदै गरेका पीडितहरूलाई प्रहरीले बिजुली बजार पुलमा हस्तक्षेप गरेको थियो ।

प्रहरीको हस्तक्षेप पछि प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरेर पुलमै धर्ना बसेका थिए । प्रहरीले उनीहरूमाथि हस्तक्षेप गर्दै सडक खुलाएको छ । बिजुलीबजारमा उनीहरुको प्रदर्शनमा हस्तक्षेप भएपछि प्रदर्शनकारीहरूले पुन बानेश्वर पुगेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले, बचत कर्ताहरूको बचत फिर्ता सुनिश्चत गर्न नसक्ने सहकारी विभाग खारेज गर, सहकारी पीडित बचतकर्ताको निक्षेप रकम साँवा ब्याज सहित फिर्ता गर । सहकारी पीडित बचतकर्ताको निक्षेप रकम ग्यारेन्टी गर । ए सरकार कित मारि देउ कि त खोला तारी देउलगायतका नारा लगाउँदै धर्नामा बसेका थिए ।

सडक खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो र सो क्रममा केहि प्रदर्शनकारीहरु घाइते भएका छन् ।