काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । तस्करी भएको सुनबारे प्रधानमन्त्री किन बोल्दैनन् ? सुन तस्करी प्रकरणमा स्पष्ट जवाफ नदिएकाले कतै प्रधानमन्त्रीको संलग्नता छैन भनी उनले आशंका व्यक्त गरेका हुन् ।
बरामद सुनको अनुसन्धानमा सीआईबीलाई संलग्नता नगराइनु, राजश्व अनुसन्धान विभागलाई मात्रै जिम्मा दिइनु र सुन बरामद हुनु साता अधि भन्सार कार्यालयको महानिर्देशक नवराज ढुंगाना प्रचण्डको पीए हुनुले थप आशंका उब्जिएको उनले बताएका छन् । सीआईबीलाई संलग्नता नगराइ महानिर्देशक ढुंगानाकै नेतृत्वमा सुन तस्करी प्रकरणमा अनुसन्धान हुँदा दोषी उम्कन सक्ने उनको भनाइ रहेको छ । भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरु मुछिएपछि अनुसन्धान बीचैमा रोकिने गरेको उल्लेख समेत गरे ।
उनले सुन तस्करी प्रकरणमा माथिल्लो ओहोदाको व्यक्तिको संलग्नता हुनसक्ने भएकाले घटनालाई थामथुम गर्न खोजिएको बताए। यस विषयमा पत्रकारहरूले गम्भीर भएर लाग्न आग्रह गरे । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण आउने र त्यसले सुन तस्करी प्रकरणको अनुसन्धान ओझेलमा पर्ने दावी गरे । नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरण सुन प्रकरण आएपछि सेलाएको जिकिर गरे ।
लगातार सदन अवरुद्ध हुँदा राष्ट्रलाई निकै क्षति भएको भन्दै सत्तापक्ष र प्रतिपक्षीले गम्भीर भएर सोच्नुपर्ने बताए । सुन तस्करी प्रकरणबारे सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले ,राप्रपालगायत दलहरूले जवाफ माग्दा पनि गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिएका छैनन् । राष्ट्र बैंकमा लगिएको सुन हालसम्म जोखिएको छैन ।
केही नयाँ घटना आउने वित्तिकै नेकपा एमाले ,माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुट्नुले जनतामा थप आशंका उब्जिएको बताएका छन् ।


0 comment