काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनविच एमसीसी कार्यान्वयनबारे भेटबर्ता भएको छ । राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको स्रोतले बताएको हो ।
असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको बेला राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने वा नजानेबारे चासो राखेको उच्चस्रोतले बताएको छ । यता परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ । सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ । चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’मा सहभागी हुन निमन्त्रणा गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेका थिए । त्यसपश्चात उनी भारत भ्रमणमा गएका थिए ।


0 comment