काठमाडौं – नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने ८ जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरुमा, दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका ३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूललाई रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्लाको मालिकार्जुन गाउँपालिका ३ बस्ने श्याम सिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिएका छन् । 

प्रहरीले दिएको जानकारी अनुसार, प्रतिवादी नरेन्द्र सिंह महरले म नेपाली सेनाको जागिरे वाला हु । म देवीदल गण अत्तरियामा कार्यरत छु । तिमिहरुलाई सेनामा भर्ना गरि दिन्छु, भर्ना गरे बापत नगद रुपैयाँ दिनुपर्ने हुन्छ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

पीडित ७ जनालाई  सिधै भर्ना गरेर तालिममा समावेश गराउँने आश्वासन देखाइएको थियो । पक्राउ परेकाहरुको खाता नम्बर र ई सेवामा रकम आएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताएका छन् । 

प्रहरीले आरोपीहरुलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ ।