काठमाडौं - स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार भएको बताएका छन्।

शनिबार दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन्। उनले नेपालमै हुनसक्ने उपचारका लागि भीभीआईपी र भीआईपी विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे। 

आफू मन्त्रालयमा आएपछि गरिब तथा विपन्न नागरिकको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए। अब कुनै पनि गरिब तथा विपन्न नागरिकले उपचार नपाएर ज्यान गुमाउने अवस्था नआउने उनले बताए। 

त्यस्तै, मन्त्री बस्नेतले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाए।