काठमाडौं - परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो।
मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न अनुरोध समेत गरेको छ। यस्तै, रोजगारदाताले नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्ड हुँदै म्यानमार लैजाने र राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको मन्त्रालयले बताएको छ।
विदेशमा रोजगारीका लागी जाँदा भिजिट भिसामा नगई प्रचलित कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान समेत मन्त्रालयले अनुरोध गरेको छ। रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ।
- रासस

0 comment