काठमाडौं - मिटरब्याज पीडितका लागी सरकारले कार्यान्वयनमा ल्याएको विधेयकको विरोध गर्दै पीडितहरूले विधेयक नै जलाएका छन्।
विधेयकका प्रावधानहरूले साहुहरूलाई संरक्षण गरेको ठहर गर्दै मिटरब्याज पीडितहरूले शुक्रबार साँझ देशैभरि विधेयक जलाएका हुन्। शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए।
गत वैशाख २० गते सरकारले अध्यादेशमार्फत मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न विधेयक ल्याएको थियो। ६० दिनभित्र प्रतिनिधिसभाबाट पारित नभएपछि उक्त विधेयक निष्क्रिय भएको थियो। त्यही विधेयकलाई संसद्मा पेस गरेर पारित गरिने गृहमन्त्रीले पीडितहरूलाई विश्वास दिलाएपनि विधेयकको प्रावधानहरू संशोधन गरेर प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभा हुँदै राष्ट्रपतिको कार्यालयलाई पठाएको थियो।
विधेयकको प्रावधानहरू संशोधन भएदेखी नै पीडितहरूले संसद् भवन घेराउ गर्दै विधेयक पीडितहरूको पक्षमा नभएको जनाएका थिए। यद्धपी राष्ट्रपतिबाट उक्त विधेयक प्रमाणीकरण भयो । विधेयकका प्रावधानहरूले साहुहरूलाई संरक्षण गरेको ठहर गर्दै मिटरब्याज पीडितहरूले शुक्रबार देशैभरि विधेयक जलाएर विरोध गरे।
मिटरब्याजलाई फौजदारी कसुर करार गर्दै विधेयक जारी हुनु स्वागतयोग्य भएपनी राजनितिक दलहरूले साहुहरूलाई संरक्षण दिन विधेयकको प्रावधान संशोधन गर्नु गलत भएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले बताए। सरकारले आन्दोलनरत पक्षहरूको कुरा नसुनेको उनको आरोप छ । उनका अनुसार सरकारले तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसनजस्ता फर्जी तमसुक, छिनुवापास आदि खारेज गर्ने राजनीतिक प्रतिबद्धता पूरा गरेको छैन। मिटरब्याज पीडितका लागी सरकारले ल्याएको नयाँ कानुन विषबिनाको सर्पजस्तै भएको उनले बताए ।
शोषकहरूले जफत गरेका गरिबको सम्पत्ति फिर्ता दिलाउने बलियो आधार विधेयकमा नरहेको संघर्ष समितिका वक्ता निर्ग नवीनले बताए। नयाँ ऐनले किसान मजदुरको अवस्था अनुकूल वित्तीय लेनदेनको तौरतरिका सहज बनाउन र हाल व्यापक बन्दै गएको बाध्यकारी चेक बाउन्स रोक्न सक्ने सम्भावना भएको उनले बताए ।
मिटरब्याज पीडितलाई सबै किसिमको आर्थिक, राजनीतिक र सांस्कृतिक शोषणबाट मुक्त बनाउन अब झन् सशक्त प्रतिरोध गर्ने पीडितहरू अठोट छ ।


0 comment