काठमाडौँ — मिटरब्याज विधेयकसम्बन्धी विधेयक प्रमाणीकरण राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाबाट आज  ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’  सर्वसम्मत रूपमा पारित भएको हो । यो कानुन पास भएपछि मिटर ब्याजीलाई कार्वाही गर्न सकिने छ । मिटरब्याजीलाई कारबाही गर्नका लागि कानुनी व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभाबाट पारित भएको सन्देश राष्ट्रिय सभाले नसुनाउँदा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउन ढिला भएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गरेको उक्त विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।

चैत दोस्रो साता मधेशका विभिन्न जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका पीडितको माग सम्बोधन गर्ने गरी सरकारले वैशाख २० मा अध्यादेश ल्याएको थियो । वैशाख २४ बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै अध्यादेशबारे दुवै सदनलाई जानकारी गराइएको थियो ।

सरकारले असार ५ मा मात्रै अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो र उक्त विधेयक असार १५ मा पारित भयो । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भए पनि त्यसको प्रक्रियामा प्रश्न उठाउँदै अध्यक्ष तिमिल्सिनाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ को सन्देश सभामा सुनाउने विषय बैठकको कार्यसूचीमा राख्न अस्वीकार गरेका थिए।