काठमाडौं - बिरामीको मृत्युपछि महोत्तरीको बर्दिवास अस्पतालको अवस्था तनावग्रस्त भएको छ ।
अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै सयौं स्थानीयहरू प्रदर्शन गर्दै बलजफ्ती अस्पतालभित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । अस्पतालक्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गत असोज ३ गते राति बर्दिवास नगरपालिका–१४ का ३६ वर्षीय उमेश कुमार महतोलाई छाति दुखेपछि परिवारले बर्दिवास अस्पताल पुर्याएका थिए । त्यहाँ ड्युटीमा खटिएका स्वाथ्यकर्मीले उपचारमा वेवास्ता गरेपछि बिरामीको अवस्था जटिल बन्दै गएको मृतकका आफन्तको आरोप छ। बिरामीको अवस्थामा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि काठमाडौं लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।
बिरामीलाई अस्पताल पुर्याउँदा डाक्टर नभेटिएको, ल्याव पनि नखुलेको, अस्पतालमा औषधि पनि नभेटिएको र डाक्टरकै सल्लाहमा बाहिरबाट ल्याएको औषधि नर्सहरुले खुवाउन ढिलाई गरेकोले बिरामीको मृत्यु भएको उनीहरूको भनाइ छ। अस्पतालमा केही नभएपछि बिरामीलाई काठमाडौं लग्न विवश भएको उनीहरूको भनाइ छ।
अस्पतालले बिरामीलाई ह्दयसम्बन्धी समस्या रहेको समेत आफूहरुलाई नबताएको उनीहरूले बताए। अस्पतालमा लापरवाही गर्ने चिकित्सक, नर्ससहित दोषी कर्मचारीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।


0 comment