काठमाडौं - ठमेलस्थित एलओडी ‘लर्ड अफ ड्रीन्क्स’का म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। नाबालिगलाई क्लब प्रवेश गर्न अनुमति दिएको कसूरमा लओडीका म्यानेजर सहदेव सेढाइ र काउन्टरमा काम गर्ने सपना ढुंगानासहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
क्लबका सञ्चालकद्वय राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध भने मुदा नचल्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ। घटना घटेको समयमा क्लबमा उनीहरूको उपस्थिति नदेखिएको हुँदा उनीहरूविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको बताईएको छ ।
गत जेठ ३१ गते एलओडीमा गएकी एक १६ वर्षीया बालिका बलात्कृत भएकी थिइन्। बालिकाले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी छन्। नाबालिग बलात्कारको जाहेरीमा ललितपुर प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ। यही घटनापछि आफ्नो कार्यक्षेत्रमा घटना घटेको भन्दै प्रहरी परिसर काठमाडौले बालबालिका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाको अनुसन्धानका लागी एलओडीका म्यानेजर र कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।
यस प्रकरणमा एलओडीका सञ्चालकद्वय पक्राउ परेका थिए। तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरू छुटेका छन्।
नाबालिगलाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानासहितलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

0 comment