डा. केशव देवकोटा – नेपालमा बढ्दो विदेशी हस्तक्षेपकाबीचमा नागरिकता सम्बन्धी प्रकरण पनि पेचिलो बनेको छ । सर्वोच्च अदालतले ०८० असार सातगते गरेको निर्णयपछि एकातिर केही पक्षहरुका लागि नेपाली नागरिकता प्राप्तगर्ने बाटो खुलेको छभने अर्कातिर नागरिकता सम्बन्धी बिवादमा परेको गाँठोमा थप अर्को गाँठो परेको छ । २०८० असार सात गतेको निर्णयले संविधान मिचिएको छभने संसदको अधिकार क्षेत्रमाथिसमेत हस्तक्षेप हुनपुगेको छ । अब नयाँ कानूनअन्तर्गत यसअघि जन्मका आधारमा नेपाली नागरिक भएकाहरुका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरुलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुलेको छ । यसले नेपाललाई फिजीहुँदै सिक्किम बनाउने स्पष्ट संकेतहरु देखिएका छन् । पछिल्लो घटनाक्रमले केही ब्यक्ति र शक्तिहरुको ‘विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने, नेपाली सभ्यता, पहिचान र संस्कृति समाप्त पार्ने, सदियौँदेखि रहेको सद्भाव र सहिष्णुतालाई खलल पार्ने र नेपालमा थप द्वन्दको सिर्जनागर्ने’ चाहनालाई बल दिएको छ ।
असार सातगतेबाटै देश फिजीकरणको बाटोमा एक कदम अगाडि बढेको छ । घटनाक्रमहरुलाई हेर्दा के देखिएको छभने सन् १८७४ मा फिजीमा बेलायतले उपनिवेश कायम गरेको थियो । सर गार्डेन त्यहाँको गभर्नरकारुपमा नियुक्त भएपछि आर्थिक विकासको लागि प्रोत्साहनगर्न उखु खेती र प्रशोधन कारखानाका लागिभन्दै भारतीय मजदुरहरुलाई स्थान दिईयो । सन् १९१६ मा भारतबाट केही मजदुरहरु त्यहाँ लगिएको थियो । उनीहरुले त्यहाँ उखुको खेतीमात्र गरेनन् भारतीय निर्देशनमा द्वन्द चर्काउने खेती पनि गरे । फलत सन् १९७७ मा फिजी भारतीय दबाबमा भारतीय मूलका नागरिकहरुलाई नागरिता दिन बाध्य भयो । सन् १९८७ देखि सन १९९० सम्म फिजी संविधानविहीन अवस्थामा रहेको थियो । सो संबैधानिक संकटको फाइदा उठाएर भारतले उक्त समयमा फिजीमा रहेका सबै भारतीय मूलका नागरिकलाई नागरिता दिलायो । जसअनुसार फिजीमा जन्मेका जुनसुकै भारतीयले नागरिता पाउन सक्ने ब्यवस्था (संविधानको धारा ३२०) को व्यवस्था गरियो । सन् १९८१ मा ५८८ को संख्यामा रहेका भारतीय नागरिकहरु सन् १९९६ सम्म पुग्दानपुग्दै तीन लाख ३९ हजारभन्दा बढी भए । त्यसपछि उनीहरुले त्यहाँको निर्वाचनमासमेत आफनो पक्कड बलियो बनाउँदै लगे । सामान्य मजदुरकारुपमा फिजी पुगेका भारतीयहरुले आफ्नो पक्कड बढाउँदै लगेर भारतीय नागरिक महेन्द्र चौधरीलाई त्यहाँको प्रधानमन्त्रि बनाउन सफल भए । उनीहरुले ७१ सिट रहेको फिजीको संसदीय चुनावमा ३७ सिटसमेत हाशिल गरेका थिए । झण्डै ११७२२ किलोमिटर टाडा रहेको फिजीमासमेत भारतीयहरुले सत्ता कब्जा गर्नसकेपछि भारतले यो नीति आफ्ना सबै छिमेकी देशहरुमा प्रयोग गरेको छ । हाल नेपालमा प्रयोग भैरहेको पनि सोही नीति हो । भारतले नागरिकतामा मात्र नभएर नेपालको आर्थिक र राजनीतिक क्षेत्रमासमेत आफ्नो बर्चश्व बढाउँदै लगेको छ । भारतले सन् १९५० को सन्धीको आडमा सिक्किमलाई पनि यसैगरी नागरिकतामा संक्रमण गर्दैलगेर आफ्नो कब्जामा पारेको थियो । हाल उसले यस्तो नीति भुटानमा प्रयोग गरिरहेको देखिएको छ । ०४६ को राजनीतिक परिवर्तनपछि तीब्ररुपमा शुरुभएको भारतीयलाई नेपाली नागरिकता दिलाउने अभियान ०६३ को परिवर्तनपछि झन तीब्र पारिएको छ । बिवादास्पद नागरिकता विधेयक खारेजगर्न नसकेर ०८० असार आठबाट कार्यान्वयनमा आएकाले अब यसले नेपाल नेपालीको अस्थित्व समाप्त गराउने कुरामा शंका छैन । बाबु र आमा विदेशी भएपनि नेपालमा जन्मेकै आधारमा नागरिकता दिने सरकारको केहीबर्ष अघिको निर्णय राष्ट्रघाती कदम थियो । हाल आएर फेरी तिनैका सन्तानलाई बंशजका आधारमा नागरिकता दिन थालिएको छ । २००९ सालदेखि २०१९ सालसम्म जन्मका आधारमा नागरिकता दिँदानै झण्डै २४ लाख भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरेको देखिएको थियो । ०६३ को परिवर्तनपछि जन्मका आधारमा नागरिकता दिइएकाहरुलाई आधार बनाएर ०८४ को निर्वाचनमा विदेशीलाई नेपालका अधिकांश सर्बोच्च पदमा पु¥याउने लक्ष राखेको देखिएको छ । पछिल्लो नागरिकतासम्बन्धी विधेयकलाई गत जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसैदिन त्यो नेपाल राजपत्रमा प्रकाशितसमेत भएको थियो ।
२०७९ साल भदौ २० गते संसदका दुवै सदनले छलफल गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको भएपनि सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन सकेको थिएन । मन्त्रिपरिषदले ०८० जेठ १२ गते निर्णय गरेर प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पुनः अनुरोध गरेपछि त्यसलाई नयाँ संसदको बैठकबाट अनुमोदनसमेत नगराई स्वतह प्रमाणिकरण गरिएको थियो । यसअघि पुरानो संसदले पारित गरेर पठाएको तर प्रमाणीकरण भैनसकेको कुनै पनि विधेयक स्वतह निष्किृय हुनेगरेको थियो । जसलाई नयाँ सरकारले पुन निर्णय गरेर नयाँ संसदमा पेश गरेपछिमात्र कारवाही अगाडि बढ्ने गथ्र्यो । अघिल्लो संसदले पठाएको विधेयकलाई पुनः प्रमाणीकरण गराउन सकिनेगरी संसदले कुनै कानूनसमेत बनाएको थिएन । यस पटक निष्कृय भैसकेको विधेयकलाई राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत संविधानको धारा ६१ को उपधारा २, ३ र ४ र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरिएको जनाएको थियो । धारा ६१ मा राष्ट्रपतिले संघीय कानून बमोजिम कामगर्ने, राष्ट्रिय एकताको प्रवद्र्धनगर्ने र संविधानको पालना र संरक्षणगर्ने कुरा उल्लेख छ । त्यसैगरी धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । जसमा संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिनेभनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ भनिएको छ । यस्तो अवस्थामा राष्ट्रपतिबाट पुरानै विधेयकलाई कार्य क्षेत्र नाघेर प्रमाणिकरण गरिदिंदा नागरिकतासम्बन्धी बिवादले दीर्घकालीन रुप धारण गरेको छ । राष्ट्रपतिसमक्ष पेशभएको १५ दिन नाघेर प्रमाणीकरण भएको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि अब अन्य थन्किएका पुराना विधेयकहरु पनि धमाधम कानून बन्ने संभावनाहरु रहेका छन् ।
संसदले दोश्रो पटक पास गरेर ०७९ को भदौ २० गते प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति समक्ष पुगेको विधेयक नौ महिनापछि नयाँ राष्ट्रपतिबाट प्रमाणिकरण भएकाले यसबाट नयाँ नजिरसमेत कायम भएको छ । अब ०७२ सालको असोज तीन गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले १६ वर्ष उमेर पूरा हुनासाथ स्वतह वंशजका आधारमा नेपालको नागरिकता प्राप्तगर्ने बाटो खुलेको छ । त्यसैगरी ऐनको दफा तीनको उपदफा पाँचअनुसार नेपाली नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमानै बसोबास गरेको र बाबुको पहिचान हुननसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्तगर्ने बाटो पनि खुलेको छ । पछिल्लो व्यवस्थाले एकल महिलाका सन्तानहरुलाई पनि वंशजको नेपाली नागरिकता पाउने बाटो खुलेको देखिएको छ ।
बाबुको पहिचान नखुलेका सन्तानहरुको नागरिकता लिँदा आमा र सन्तान दुवैले बाबुबारे स्वघोषणा गर्नुपर्ने शर्तसमेत राखिएको छ । ऐनमा थपगरिएको दफा ७ क ले विदेशी मुलुकको नागरिकता प्राप्तगरी सार्क सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेका र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकरही पछि विदेशी मुलुकको नागरिकता प्राप्तगरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोगगर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्तगर्न सक्ने ब्यवस्था गरेको छ । सरकारको पछिल्लो कदमले आगामी ०८४ अघिनै यहाँका पुराना नेपालीहरुकोभन्दा नयाँ र आयातित नेपालीहरुको संख्या बढी हुने देखिएको छ । साथसाथै नेपालमा देखिएका बिभिन्न राजनीतिक बिवादहरुको समाधान जनमत संग्रहमार्फत गराउने कुराहरु उठ्न थालेका छन् । जसलेगर्दा नेपालको तराईलाई जनमत संग्रहका माध्यमबाट भारतमा बिलय गराउने षडयन्त्र हुनसक्ने संकेत देखिएको छ । जसका लागि एकातिर नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले जनमत संग्रहको कुरा उठाएको छभने अर्कातिर सिके राउत नेतृत्वको जनमत पार्टीले पनि जनमत संग्रहमै जोड दिएको देखिएको छ । भारतले सन् १८१६ मा भएको सुगौली सन्धीमार्फत गुमेको नेपालको भूभाग फिर्ता नगर्नु, नेपालको पछिल्लो चुच्चे नक्सालाई मान्यता नदिनु र नेपालका केही भूभागलाई समेत समेटेर खअण्ड भारतको नक्साचित्र तयारगर्नु तर नेपालको हालको सरकारले त्यसको प्रतिवाद नगर्नु लगायतका कार्यले भारतको नेपालप्रतिको अशली नियत स्पष्ट भएको छ । यसबारे देशभक्त नेपालीहरुले नयाँ शोच बनाउनु जरुरी छ ।



0 comment