काठमाडौं - अर्थमन्त्री प्रकाश शरण महतले सीमामा भन्सारले गरेको कडाईको व्यवहारिक पक्ष हेरिने बताएका छन्।

सिद्धार्थ उधोग वाणिज्य संघद्वारा आयोजित भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले भारतीय बजारबाट एक सय रूपैयाँभन्दा बढीको समान खरिद गरेर फर्किनेबाट भन्सारले राजस्व असुली गरेपछि यसका लागि व्यवहारिक पक्ष हेरिने बताएका हुन्। सीमापारीबाट अवैधरूपमा तस्करी यथावत रहेको र सर्वसाधारणप्रति भन्सारले व्यवहारिक पक्ष नहेर्दा सर्वसाधारणलाई सास्ती भइरहेको भन्दै अर्थमन्त्रीसम्म मुलुकका विभिन्न क्षेत्रबाट गुनासो पुगेको थियो।

समयमै ठेक्का नलाग्दा पुँजीगत खर्च हुन नसकेकाले अब विगतदेखि चलाइएको परिपाटीलाई परिवर्तन गरी कात्तिकभित्र ठेक्का लगनउनु पर्ने नियम लागू भएपछि पुँजीगत खर्चमा वृद्धि हुनेमा उनले विश्वास व्यक्त गरे। भैरहवस्थित गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहलहरू भइरहेको उनले पनि बताए। 

सिद्धार्थ उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न, सीमाबाट भारतीय पर्यटकको आगमनमा सहजता ल्याउन, सीमाबाट तस्करी नियन्त्रण गर्न, व्यवसायीमाथि लगाइएको करमा सहजीकरण लगायतको माग गरेका थिए।