काठमाडौं - प्रहरीले यातायात कार्यालयको कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्। 

आफू यातायात कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायत गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको उजुरीका आधारमा परियारलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

त्यसैगरी परियारले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालक ३६ वर्षीय ब्रम्ह रिसाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रहरीले जनाएको छ।